सामाजिक व्यवहारमा दिनानुदिन परिवर्तन बाआमा बोझ हुन् थाले !

हाम्रा सामाजिक व्यवहार र चिन्तनहरूमा दिनानुदिन परिवर्तन आउँदैछ । हाम्रा दैनिकीहरू र हाम्रा कामका चरित्र पनि दिनानुदिन फेरिँदैछन् । ‘सानो परिवार सुखी परिवार’ भन्ने अवधारणा विकास हुँदैछ । छोरो विदेश बस्छ । बुहारी सहरमा सन्तान पढाउन कोठा भाडामा लिई बस्छिन् । बाआमा घर सम्हालेर बस्छन् । जो स्वदेश बस्छन् उनीहरू पनि बाआमा दाजुभाइसँग बस्नुलाई बोझ ठान्छन् र एकल परिवारको खुसी खोज्न दाजुभाइसँग अंशबण्डा गर्छन् । छुट्टै घर बनाउँछन् । श्रीमती र सन्तानसँग बस्छन् । हजुरको परिवारमा को को हुनुहुन्छ भनी कसैले प्रश्न ग¥यो भने उनीहरूको जवाफ हुन्छ, ‘श्रीमती र यति जना छोराछोरी ।’ उनीहरूको परिवारको परिभाषाबाट बिस्तारै बाआमा गायब हुन्छन्, पुरानो कपडाको रंग खुइलिएजस्तै । बाआमाका सुझाउहरू कचकच लाग्न थाल्छन् । बाआमा अपठित र उल्लु लाग्न थाल्छन् । आफू निकै समझदार र सभ्य छु जस्तो लाग्न थाल्छ र बाआमा असभ्य र गवाँर भइदिन्छन् । मेरा एकजना मित्र छन् । उनका ४ दाजुभाइ छन् । ८० वर्ष पार गरिसकेकी आमा छिन् । बाबु उहिल्यै बिते । दुःखका साथ ती मित्रको भनाइ जस्ताको तस्तै, “के मैले मात्र ठेक्का लिएको छु र बाआमा पाल्ने ? अरुले हेर्नु पर्दैन ? त्यही भएर हामीले त पालो लगाएका छौँ । एकएक महिना आमा ४ भाइ छोराकहाँ बस्नुहुन्छ । सारै झुर छ यार यो महिना, आमालाई पाल्ने मेरो पालो छ । यो एक महिना कसरी बिताउने हो?’

एक महिना आमा आफूसँग बस्नु ‘झुर’ भइदिन्छ । आमा पालिने बस्तु बन्छिन् । सन्तानले एकमहिना आमालाई दालभात खुवाउनुलाई ठूलो उपकार गरेको ठान्छन् । आमा पालो गर्दै आफ्नो झिटीमिटी प्रत्येक महिना नयाँ घरमा सार्छिन्।

कति सन्तान झुक्याएर सिधै वृद्धाश्रम लिएर छोडिदिन्छिन् । कतिले घरबाट निकालेर सडकको बास पनि बनाइदिन्छन् । हाम्रो मानसिकता नाफा र नोक्सानको हिसाब गर्ने व्यापारिक भएको छ । वर्षमा आमाका लागि किनिदिने एउटा धोती वा वर्षभरि खाने खानका लागि कति खर्च हुन्छ भनी औँला भाँचेर हिसाब गर्ने सन्तानहरू बग्रेल्ती भेटिन्छन्।

अहिले मानवीय व्यवहार जुन रूपमा हिंस्रक बन्दै गएको छ, परपीडक र एकलकाँटे बन्दै गएको छ, यसैको परिणामस्वरूप समाजमा अपराधका घटनाहरू तीव्र रूपमा बढ्दै गइरहेका छन् । दैनिकजसो बलात्कार वा हत्याका समाचार आउँछन् । यसको एउटै कारण हो, हामीले हाम्रो संस्कार भुल्दै गएका छौँ । अनुशासन भुल्दै गएका छौँ । किनकि, संस्कार र अनुशासन सिकाउने हाम्रा अग्रज अभिभावकहरू हाम्रा लागि बोझ भएका छन् र उनीहरूसँगको संसर्ग हामीले गुमाएका छौँ । उनीहरूका अनुभव र ज्ञानको असीम भण्डारदेखि हामी बिस्तारै विमुख भइरहेका छौँ । हजुरबुवा हजुरआमासँग गफिँदै गरेका नाति–नातिनीलाई हामी भन्छौँ, ‘बूढाबूढीसँग गफ गरेर केही काम छैन, पढ्न जा खुरुक्क ।’ शिक्षाले संस्कार र अनुशासन दिँदैन, ज्ञानले दिन्छ । शिक्षा र ज्ञानमा अन्तर छ । हाम्रा सन्तानका निम्ति ज्ञान दिने सिंगो विश्वविद्यालय हाम्रा अग्रज हाम्रै अघिल्तिर हुनुहुन्छ तर हामी सन्तानलाई शिक्षित बनाउने नाउँमा ज्ञान प्राप्तिको सुनौलो अवसरबाट विमुख गराइरहेका छौँ।

उमेरले ७५ लाग्दै गरेका मेरा बुवा भन्नुहुन्छ, “तिमीहरू बाहिरफेर गयौ भने फोन गर्दैनौ । मलाई छटपटी हुन्छ । फोन गर्ने गर । तिमीहरूलाई लाग्दो हो, हामी ठूलो भइसक्यौँ, हाम्रा आँखामा तिमीहरू बालकै छौँ । हामीलाई चिन्ता हुन्छ ।’ म नाजवाफ हुन्छु।

अस्ति राती मेरो २ वर्षे छोरोलाई हन्ननी ज्वरो आयो । रातभरि पानीपट्टी लगाइ बस्यौँ । निद्रा पटक्कै लागेन । अर्को दिन अफिस पुगेर पनि ३/४ पटक फोन गरेँ, बाबुलाई कस्तो छ भनेर । बच्चाले खाना नखाइदिए पनि चिन्ता । बच्चा रोइदिए पनि चिन्ता । बच्चालाई सामान्य रुघाखोकी मात्र लाग्दा पनि चिन्ता । बच्चाको अपेक्षा पूरा गर्न नसक्दा पनि चिन्ता । सन्तानका लागि हामी कति चिन्तित भइदिन्छौँ ? तर बाआमाका लागि हजुरबुवा हजुरआमाका लागि ? यो प्रश्न निकै संवेदनशील छ । बआमाले यस्ता अनिँदा रात कति गुजार्नुभो होला । हामीले कति पटक सुरुवाल चिसो बनाए हौँला । कतिपटक आची पुछिदिनुभो होला । कति पटक नुहाइदिनुभो होला । अझ यो भन्दा बढी हाम्रा सुरक्षा र खुसीका लागि उहाँका दिमागमा संवेदनाको ग्राफ कतिपटक उचालिँदै झर्दै ग-यो होला।

सन्तानका लागि आमाको उदारताको चर्चा जति गर्दा पनि त्यो अपूरै हुन्छ । आमाको जीवनसँग सन्तानको जीवन जोडिएको छ । उनको अस्तित्वको अंश–अंश प्रत्येक सन्तानको शरीरमा दौडिरहेको हुन्छ । सन्तानका लागि प्रकट हुने आमाको उदात्त कृत्यको तुलना यो संसारको कुनै पनि विषयवस्तुसँग हुँदैन । तर विडम्बना ! तिनै आमा जीवनको उत्तराद्र्धमा सन्तानका लागि बोझ बन्छिन्।

हाम्रा कैयौँ मागहरूलाई बाआमाले आफ्ना रहरहरू बन्धकी राखेर पनि पूरा गरिदिनुहुन्छ । हाम्रा मागपत्रहरूको लामो सूची तयार गरी निर्धक्क पेस गर्न सकिने हाम्रा उच्चस्तरीय निकाय उहाँहरू नै हो । हामीले कहिल्यै आँकलन गरेका छैनौँ ती हाम्रा मागरूपी सपनाहरूले बाआमाका कति सपनाहरूलाई प्रतिबन्धित गरेका छन् । बाल्यकालमा अँगेनाको वरिवरि झुत्तो लागेर हामी सन्तानहरू आगो तापिरहँदा बुवा एउटा कथा सुनाउनुहुन्थ्यो, ‘एकपटक एउटा खैरे नेपाल घुम्न आएछ । नेपालका सबै क्षेत्र घुमेर आफ्नो देश फर्केछ । उसका मित्रहरूले उसलाई सोधेछन्, ‘तिमी त्यति टाढा दक्षिण एसियाको एउटा विपन्न मुलुक घुमेर आयौ । भन, त्यहाँ त्यस्तो खास के रहेछ, तिमीले के देख्यौ त्यहाँ ?’ उसले जवाफ दिएछ, ‘नेपाल प्राकृतिक रूपमा साह्रै सुन्दर छ । प्रशस्त स्रोतसाधन छ । तर पनि, आर्थिक रूपमा विपन्न छ । यी सबै कुरा त सामान्य भए । मैले नेपालमा एउटा कुरा चाहिँ अनौठो देखेँ ।’ साथीहरूले उत्सुक हुँदै सोधेछन्, ‘कुन कुरा हो त्यस्तो ?’ उसले जवाफ दिएछ, ‘आर्थिक रूपमा विपन्न मुलुक भए पनि त्यहाँ प्रत्येक घरमा एउटा एउटा गधा पालेका हुँदारहेछन् ।’ साथीहरूले अनौठो मानेछन् र सोधेछन्, ‘किन ? कुन प्रयोजनका लागि यस्तो गधा पाल्दा रहेछन् त ?’ उसले जवाफ दिएछ, “त्यहाँ परिवारका सदस्यले आफ्नो भारी आफैँ बोक्दा रहेनछन् । घरको बूढोले नै श्रीमती, छोरा, बुहारी, नाति, नातिनी सबैको भारी बोक्दो रहेछ । त्यही गधालाई सबै भारी बोकाएर नेपालीहरू जीवन चलाउँदा रहेछन् ।’ यति भनेपछि बुवा मज्जाले हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो यहाँ पनि गधा म छँदैछु जे जे गर्नु छ गर।’

nagarik news

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account