यो नेपाल होइन, खबर गर्‍यौ भने तिमीहरूलाई पनि मारेर नेपालको बोर्डरमा फालिदिन्छौं

यो नेपाल होइन, खबर गर्‍यौ भने तिमीहरूलाई पनि मारेर नेपालको बोर्डरमा फालिदिन्छौं

यो नेपाल होइन, खबर गर्‍यौ भने तिमीहरूलाई पनि मारेर नेपालको बोर्डरमा फालिदिन्छौं

उनी फोनमा बोल्दाबोल्दै रोकिए। शब्द नपाएर होइन, भन्न नसकेर।

सकून् पनि कसरी! केही दिनअघि फुरूक-फुरूक यताउता उफ्रिने उनकी कान्छी छोरी अहिले यो दुनियाँमा छैनन्। बिरामले होइन, दुर्घटनामा परेर पनि होइन उनकी आँखाकी नानीलाई चुँडेको आपराधिक मानिसकताले हो।

जनवरी २१ यता बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरेका खड्गबहादुर कामीलाई दिन र रात उस्तै लाग्छ-निष्पट्ट अँध्यारो।

‘म राम्ररी होसमा छैन सर,’ केहीबेर रोकिएपछि उनले फोनमा भने।

पश्चिम सुर्खेतको घाटगाउँबाट सजिलो जिन्दगी बाँच्ने कल्पना बुन्दै खड्गबहादुरको परिवार केही वर्षअघि कर्णालीको तिरैतिर बर्दिया आएको थियो। बर्दिया आएपनि उनीहरूको वर्ग बदलिएन। खुरखुरेको सुकुम्वासी दलित बस्तीमा भूमि समथर थियो तर दु:खको पहाड चुरेभन्दा अग्लो।

परिवार पाल्न गाह्रो भएपछि खड्गबहादुरले अरूले जे गर्थे त्यही गरे, भारत पसे।  कर्णाली र सुदूर पश्चिमका अरू छोरामान्छे कालापहाड, दिल्ली, मुम्बई र बैंग्लोर जान्छन्। खड्गबहादुर भने बिहार पुगे।

रौतहटको इशनाथ नगरपालिकासँगै जोडिएको बिहारको कुन्डुवा चैनपुर बजारमा उनी रातभरि चौकीदारको काम गर्थे। दिउँसो चिया बेच्थे। उनले रातभरि बजारको फन्को लगाएर परिवारको गर्जो टारेको ७ वर्ष भइसकेको छ।

पछिल्लो समय उनकी श्रीमती, कान्छा छोरा र कान्छी छोरी पनि  चैनपुरमै बस्न थालेका थिए। लकडाउनमा उनीहरू देश सम्झेर नेपाल नफर्किएका होइनन्। खुरेखुरेमा गुजरा चलेन, उनीहरू फेरि भारततिरै लागे।

पुसको तेस्रो सातातिर बारबर्दिया नगरपालिकामा सुकुम्बासी बसेको जग्गा दर्ता गर्ने कुरा चल्यो। कृष्णादेवी कामी श्रीमान् र दुई बच्चालाई उतै छोडेर बर्दिया फर्किइन्।

जनवरी २१  का दिन खड्गबहादुर ड्युटी गरेबापतको पैसा उठाउन बजार गएका थिए।  १२ वर्षकी सुमित्रा र उनका छोरा हरिस कोठामा थिए।

दिउँसोतिर ‘खाजा ल्याएर आउँछु’ भनेर हरिस कोठाबाट निस्किए। सुमित्रा कोठामा एक्लै परिन्।

खाजा ल्याउन गएका दाइ बजारमा लागेको मेलामा भुले।

केही घन्टा मेला हेरेपछि उनलाई बहिनीको याद आयो। नास्ता ल्याएर उनी कोठामा आए।

बाटोमा उनको घरबेटी सियाराम साहसँग भेट भयो। सियारामले उनलाई ‘अहिले घरमा नजाऊ’ भनेर रोक्न खोजे।  हरिसले मानेनन्। कोठातिर दौडिए।

उनीहरू बस्ने कोठामा बाहिर चुकुल लगाएको थियो।  नास्ता राखेर बहिनी कहाँ गइछ खोज्न जान्छु भनेर उनले ढोका खोले।

भित्र उनकी बहिनी भुइँमा लडिरहेकी थिइन्। उनको शरीरमा रगत थियो।

१३ वर्षका हरिसले  के भएको हो मेसो पाउन सकेनन्।

रूँदै बाहिर आएर कराए- मेरा पापा किदर है?

उनको कोठानजिक एउटा कपडा पसल थियो। त्यहाँको साहुले भने- क्या हुआ? तुम्हारा पापा बजारमे है।

उनी बेसुरमा बजार दौडिए।

‘माछा बजारमा उसले मलाई भेटायो। सुरूमा त केही बोल्न सकेन। एकछिनमा भन्यो-बा, बहिनीलाई त कसले मारिदियो,’ खड्गबहादुरले त्यो दिनको सम्झिए।

छोराको कुरा सुनेर उनी पनि अत्तालिए। बाबु-छोरा दौडिँदै कोठामा आए। कोठामा सुमित्रा  हलचल नभई लडेकी थिइन्। उनको घाँटी रगत थियो।

‘मेरो होस उडेको थियो। तै पनि बाँचिहाल्छ कि भनेर मेडिकलमा लगें। डाक्टरले मरिसकी भन्दिए,’ खड्गबहादुरले भने,‘फेरि कोठामा ल्याएर राख्यौं।’

घरमै  हुँदा त परिवारमा कोही अचानक बित्दा हामीलाई असह्य पीडा हुन्छ। परदेशको ठाउँमा कलिली छोरीको विभत्स हत्याको पीडा खड्गबहादुरले सहन सकेनन्। उनले अब के गर्ने, कसो गर्ने मेसो पाउन सकेनन्।

त्यतिञ्जेलसम्म साह परिवारका सबै जना त्यहाँ भेला भइसकेका थिए।

‘मैले त्यो के भन्छ पोस्टमार्टम गर्ने सोचेको थिएँ। उनीहरूले १०-१५ लाख रुपैयाँ लाग्छ भने,’ खड्गबहादुरले भने,‘मैले पनि मेसो पाइनँ। बेहोसजस्तै भएँ।’

हरिसले घटनाबारे घरमा फोन गर्न खोजे। जम्मा भएका मान्छेले कसैलाई फोन-सोन नगर भने।

‘यो तिमीहरूको नेपाल होइन। यताउता खबर गर्‍यौ भने तिमीहरूलाई पनि मारेर नेपालको बोर्डरमा फालिदिन्छौं भनेर धम्क्याए,’ हरिसले भने।

एकातिर छोरी गुमाउनुको पीडा अर्कातिर धम्की। खडगबहादुरका बाबुछोरा निरीह बने।

एकछिनपछि स्थानीयले शवलाई राति नै जलाउने कुरा गरे। भोलिसम्म राखे बजारभरि हल्ला हुन्छ। मिडियाले थाहा पाउँछ भनेर एउटा खाली कागजमा खड्गबहादुरलाई हस्ताक्षर गराए।

‘रातको बाह्र बजे बहिनीको शवलाई लिएर नहरको छेउमा जलाए। हामीलाई नजिकसम्म जान दिएनन्,’ हरिसले भने, ‘अर्को दिन बिहानै कोठाबाट हाम्रो सामान फालिदिए। कुटपिट गरे।’

आफूमाथि परेको यत्रो अन्याय कसलाई भन्ने? के गर्ने? उजुरी गरौं, कुन ठाउँ जाने? खड्गबहादुरका बाबु-छोरा निरीह बनेर नेपाल आए।

बर्दिया पुगेपछि कृष्णादेवीले सोधिन्- छोरी खोई?

हरिसले सबै घटना सुनाए। परिवारभरि खबर फैलियो।

खड्गबहादुरका जेठा ज्वाइँ नवलसिंह बिक काम गर्न उत्तराखण्ड गएका थिए। सालीको घटना सुनेर उनी घर आए।

खड्गबहादुर एक्कासी ड्युटीमा नआएपछि चैनपुर बजारका साहुजीहरू सोधीखोजी गरेका थिए।

‘हामीमाथि अन्याय भएको थियो।  तर कसैलाई भन्न सकेका थिएनौं। ससुराले त्यत्रो समय काम गरेका सबै मान्छे खराबै त छैनन् होला सोचेर मैले ससुरासँग भएका नम्बरमा फोन गरें,’ नवलसिंहले बर्दियाबाट सेतोपाटीसँग भने,‘केही न केही त होला भनेर सासु-ससुरा लिएर चैनपुर गएँ।’

चैनपुरका साहुजीहरूले खड्गबहादुरको परिवारलाई सहयोग गरे। वकिल खोजिदिए। वकिलको लेखेको किटानी जाहेरी उनीहरूले फेब्रुअरी २ प्रहरी कार्यालयमा दर्ता गरे।

सुमित्राको बलात्कारपछि हत्या गरेर र त्यसको प्रमाण नष्ट गरेको आरोपमा उनीहरूले घरबेटी सियाराम साह, उनका छोरासहित ११ जनाविरूद्ध उजुरी हालेका छन्।

फेब्रुअरी ५ मा  सुमित्राको हत्यापछि स्थानीय र चैनपुर प्रहरी स्टेशनका प्रमुखबीचको कुराकानीको अडिओ सार्वजनिक भयो। सामाजिक सञ्जालमा अडिओ भाइरल भएपछि यो घटनाले भारतीय मिडियामा चर्चा पाएको छ।

बिबिसी हिन्दीले सुमित्राको हत्यालाई अर्को ‘हाथरस घटना’ भनेको छ।

गत सेप्टेम्बर १४ मा उत्तर प्रदेशको हाथरसमा एक युवतीको सामूहिक बलात्कार भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीकै सहयोगमा आफन्तको सहमतिबिना मध्यरातमा उनको शव जलाइएको थियो।

सुमित्राको हत्या भएपछि चैनपुर स्टेशनका प्रमुख सञ्जीवकुमार रञ्जनले एक जना अभियुक्तसँग कुरा गरेका छन्।

टेलिफोनमा उनले शवलाई जलाउन दाउराको व्यवस्था गर्न र चिसोले मरेको रिपोर्ट  बनाएर प्रहरीलाई दिन भनेका छन्।

पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्-भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ। उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआइआर दर्ता भएको छ।

एसपी झाका अनुसार अहिलेसम्म घरबेटी साह र उनका छोरालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूलाई बलात्कारपछि हत्या आरोपमा मुद्दा चलाइएको छ। अन्य ९ जना फरार छन्।

छोरीका लागि न्याय माग्दै खड्गबहादुर परिवार अहिले चैनपुरमै छ। त्यहाँको प्रशासनले उनीहरूको बसाइ र सुरक्षाको बन्दोबस्त मिलाएको छ।

‘देश फरक भए पनि न्याय त उस्तै होला नि। म छोरीलाई न्याय नदिलाएर फर्किन्नँ,’ कृष्णादेवीले फोनमा  भनिन्,‘मेरी छोरीका हत्यारालाई फाँसी दिएको हेर्न मन छ।’

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account