जन्मदर्तासहित बाबुआमाको नागरिकता पेस गरेकी बागलुङ नगरपालिका-१२ अमलाचौरकी एक युवतीले नागरिकता बनाउन सकिनन् । ५ दिनदेखि प्रशासन धाउँदा पनि उनी नागरिकना नबन्दा दिग्दार भएकी छन् ।
आमाको नागरिकतामा बाबुको नाम नचढाएको र बाबुको निवेदन नआएको भन्दै प्रशासनले नागरिकता नदिएपछि बागलुङ नगरपालिका-१२ अमलाचौरकी अल्सा बेगमले नेपाली नागरिकताको प्रमाणपत्र नपाएकी हुन् ।उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा बीएएलएलबी अध्ययनरत छिन् ।
छात्रवृत्तिका लागि उनलाई नागरिकता आवश्यक भएपछि बनाउन आएकी थिइन् । ५ दिनदेखि आमा तायरा बेगम र उनी होटलमा बसिरहेका छन् ।बेगमका बाबु १४ वर्षयता बेपत्ता छन् । खर्च र समयको बर्बादी भए पनि प्रशासनले भने आमाको नागरिकतामा बाबुको नाम चढाउनुपर्ने, त्यसका लागि बाबुको निवेदन चाहिने भन्दै फर्काउने गरेको छ । उनका बाबु कहाँ छन् भन्ने पत्तो छैन ।
‘म सानो छँदैमा हराउनुभएको रहेछ, अहिलेसम्म भेटेका छैनौं,’ बेगमले भनिन्, ‘बाबु हराएको भन्ने वडा मुचुल्का पनि बनाएका छौं, तर प्रशासनले नागरिकता दिन मानेन ।’ आमाको नाउँमा नागरिकता बनाउन पाउने व्यवस्था भए पनि नपाएको उनले गुनासो गरिन् ।